विराटनगर । हाइपोथर्मिया भएका १८ दिनका जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट भएको छ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ ।

घटनामा संलग्न तीनजना मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेको अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए । बुवा दिलीपले भने, “इमरजेन्समा भर्ना गरेपछि डा. आकाश यादवसहितको टोलीले चेकजाँच गर्नुभयो । केहीबेरमै बच्चाको मृत्यु भएको भन्दै घर लैजान भन्नुभयो । तर, मेरी भाउजूले बच्चा बोकेर जाँदा पेट चलेको देखियो । जीवितै रहेछ ।”

मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताए । उनका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।

नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको भन्दै कोसीका चिकित्सकले घर लैजान भनेको आमा उमाले बताइन् ।‌

कोसी अस्पतालका मेसु लक्ष्मी नारायण यादवले चिकित्सकमाथि कुटपिट भएको जानकारी दिँदै शिशु उपचारको विषयमा हेलचेक्राइँ भए/नभएको विषयमा छानबिन सुरु गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here