शर्ट-भिडिओ शेयरिङ प्लेटफर्मका रुपमा परिचित टिकटकमा भिडिओ हालेको भरमा कुनै पनि आम्दानी गर्न सकिँदैन । उदाहरणका लागि युट्युबमा भिडिओ राख्दा त्यसमा विज्ञापन (एडसेन्स) लगाए बापत आम्दानी गर्न सकिन्छ । त्यस्तै फेसबुकले पनि क्रियटरलाई लक्षित गर्दै विज्ञापनबाट आम्दानी गर्न सकिने सुविधा ल्याएको छ ।

तर, टिकटक भने यी प्लेटफर्मभन्दा भिन्न छ । तैपनि टिकटकबाट पैसा कमाउने र कमाउन चाहनेहरू दिनप्रतिदिन बढिरहेका छन् । क्रियटरका लागि टिकटकमा लाइभ बसेर रकम सहयोग (डिजिटल गिफ्ट) माग्ने सुविधा छ ।

डिजिटल गिफ्ट पाउन प्रयोगकर्ताहरू घण्टौं लाइभमा बस्छन्, जसलाई पछि क्याशमा परिणत गर्न सकिन्छ । टिकटकले आफूले डिजिटल गिफ्टबाट ७० प्रतिशतभन्दा कम कमिसन शुल्क लिने बताएपनि ठ्याक्कै कति कमिसन लिन्छ भन्नेबारे कुनै रिपोर्ट दिएको छैन ।

तर अहिले विभिन्न देशमा टिकटक लाइभमा दर्शकबाट सहयोग मागिरहेको भिडिओ देख्न सकिन्छ । कतिपय देशमा त टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने गिरोह नै सक्रिय छन् ।

केही समयअघि बीबीसीले दक्षिण-पश्चिम सिरियामा टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने गिरोह नै रहेको पत्ता लगाएको थियाे । यसरी लाइभमा बसेर आम्दानी गर्न सकिने भएपछि प्रयोगकर्ता (क्रियटर) अनेक ढंगले गिफ्ट माग्न थालेका छन् ।

कोही गेम खेल्छन्, कोही गीत गाउँछन् । कोही लाइभकै मेसोमा नानाथरीका विषयमा वादविवाद गर्दै दर्शकलाई आफूतिर तान्न खोज्छन् । वास्तवमा अहिले घरको भान्छादेखि पसल, अफिससम्मका टिकटक लाइभ देख्न सकिन्छ ।

सामान्य प्रयोगकर्तादेखि कलाकार, सेलिब्रेटीसम्म टिकटक लाइभमा झुम्मिएको देख्न सकिन्छ । अर्कोतर्फ बेरोजगारी र जीवन गुजारा चलाउन धौधौ पर्नेहरू पनि टिकटक लाइभमा अधिकतम समय दिन थालेका छन् ।

वास्तवमा प्रयोगकर्ता तहमा लाइभ स्ट्रिमको कुरा गर्ने हो भने टिकटकले अन्य भिडिओ प्लेटफर्मलाई पछि पारेको भन्न सकिन्छ । सामान्य मापदण्ड पूरा गर्नासाथ टिकटक लाइभ सुरु गर्न सकिन्छ । अनि यसैबाट आम्दानी गर्न सकिने विकल्प छ ।

टिकटकमा गिफ्ट पाउन क्रियटरले अनेक शैली अपनाउन थालेका छन् । दर्शकलाई आफूतिर तान्न लुगाको स्वरुप बिगार्नेदेखि अनुहारमा हिलो, मोसो र विभिन्न रङ दल्नेसम्मका गतिविधि उनीहरूले गर्छन् ।हुँदाहुँदा अहिले पानीमा घण्टौंसम्म भिजेर गिफ्ट माग्ने मान्छेहरु बढ्न थालेका छन् ।

केही समयअघि ‘आइस बकेट च्यालेन्ज’का नाममा एक बाल्टी पानीमा एक पोको बरफ राखेर आफैंले आफ्नो टाउकोबाट खन्याउने ट्रेन्ड चलेको थियो । त्यतिबेला सो च्यालेन्जको उद्देश्य अर्कै भएपनि अहिले टिकटकमा भने दिनरात पानीमा भिजेर गिफ्ट माग्नेहरूको संख्या बढ्न थालेको छ ।

अन्य टिकटक लाइभमा बोलेर वा अन्य गतिविधि गरेर गिफ्ट माग्ने गरिन्छ । तर यस्ता क्रियटर भने खोला, कुलोमा गएर टिकटक लाइभमा बस्छन् । लाइभका दौरान उनीहरू धेरै बोल्दैनन् । कसैले गिफ्ट सेन्ड गर्नासाथ ‘थ्यांक यु’ भन्दै जगले आफ्नो शरीरमा पानी खनाउँछन् वा पानीमा डुबुल्की मार्छन् । अझ धेरै गिफ्ट आए उत्साहित हुँदै पटक पटक शरीरमा पानी खन्याउँछन् ।

घण्टौंसम्म एकनासले लाइभमा बस्दा उनीहरूलाई सयौं दर्शकले हेरिरहेका हुन्छन् । तर होस्ट (क्रियटर) भने ‘गिफ्ट प्लिज’, ‘थ्याकं यु’ बाहेक अरु बोल्दैनन् ।

यस्तो शैलीको लाइभ इन्डोनेसिया, फिलिपिन्सजस्ताका देशमा बढी भएको पाइएको छ । लाइभमा रहँदा उनीहरु चिसोले कठ्याङ्ग्रिएको, काँपेको देखिन्छ । फ्यानहरू भने सहानुभूति देखाउँदै विभिन्न गिफ्ट दिन थाल्छन् । कतै गिरोहले उनीहरूलाई लोभ देखाएर लाइभमा बस्न लगाएको त होइन भन्ने प्रश्न पनि उठेका छन् ।

नेपालमा पनि लाइभमा बस्दै गिफ्ट माग्नेहरूले अनेक शैली अपनाउन थालेका छन् । यो भीडमा कलाकार, ज्योतिषदेखि चिकित्सकसम्मको लाम देख्न सकिन्छ । टिकटक गेमको नाममा होस् या विभिन्न टिप्स र जानकारी दिने नाममा, यस्ता टिकटक लाइभ दिनरात प्रशस्तै भेटिन्छ । र, अधिकांश गिफ्टकै लोभमा लाइभमा आइरहन्छन् ।

फरक शैलीको टिकटक लाइभको नाममा नेपालमा पनि पानीमा रुज्दै गिफ्ट माग्ने प्रवृत्ति नबढ्ला भन्न सकिन्न । केही नेपाली टिकटकरले त सुरु गरिसके, अब माघको जाडोपछि यस्ताे शैली बढ्नसक्छ । आखिर जताबाट आम्दानी गर्न सकिन्छ, त्यही गर्न पछि नपर्ने मानिसकिता यस्ता टिकटकरमा जन्मिएको छ । ​उनीहरुले गिफ्टकै लागि आफ्नो शरीरको ख्याल राख्दैनन्, न त परिवार, समाजप्रतिको जिम्मेवारी सम्झन्छन् ।

टिकटकले गिफ्टका लागि ‘टिकटक शप’ नै खोलेको छ, जहाँबाट लाइभ गिफ्टहरु क्वाइन (भर्चुअल करेन्सी) प्रयोग गरेर खरिद गर्न सकिन्छ । यस्ता भर्चुअल क्वाइन पाउन वास्तविक पैसा तिर्नुपर्छ । लाइभ भिडिओ देखाउने क्रिएटर वा होस्टलाई टिपमार्फत यस्ता गिफ्ट दिन सकिन्छ । दर्शकहरूले होस्टको लाइभस्ट्रिम अवधिमा आफूले चाहे जति उपहारहरू पठाउन सक्छन् ।

मनोरञ्जन र रमाइलो एपका लागि टिकटक सुरु भएपनि यसले धेरै जनाको मानिसक स्वास्थ्य बिगारिरहेको छ । कतिको पढाइ, करियर र घरबार नै तहसनहस पारेकाे छ । यसको धेरै प्रयोगले मुख्यतः मानिसको सिर्जनशीलता, एकाग्रता र परिवार-समाजप्रतिको जिम्मेवारी बिर्साइरहेको छ ।

२०१६ मा पहिलो पटक सार्वजनिक भएको टिकटकमा विशेषगरी कोभिड महामारीको बेलामा धेरै मानिस जोडिए । छोटो भिडिओका लागि याे प्लेटफर्म बन्याे, तर प्रयोगकर्ताहरु लामो समयसम्म चलाउँदा पनि नथाक्ने भएका छन् । फलतः टिकटक धेरै मानिसकाे लत बनिरहेकाे छ, जसबाट वयस्क, बालबालिकासँगै वृद्धवृद्धा समेत शिकार भइरहेका छन् ।टेकपाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here