पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समिति उक्त विमानको ब्ल्याक बक्सको पर्खाइमा छ।

दुर्घटनामा हराइरहेका मानिसको खोजीमा आइतवार अबेरसम्म जुटेका उद्धारकर्मीहरू सोमवारबाट विमानको ब्ल्याक बक्सको खोजीमा पनि जुट्ने अधिकारीहरूले बताएका छन्।

विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने उनीहरूको विश्वास छ।

“कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। कुन भागको सङ्केत के थियो। अचानक आएको समस्या हो कि। बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ,” जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने।

“यसले दुर्घटनाको जाँचबुझमा धेरै नै सहयोग पुर्‍याउँछ।”

यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउँछन्।

ब्ल्याक बक्स के हो ?

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ।

ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ।

विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

“दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,” एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने।

प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्।

उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here