काठमाडौँ । आइतबार पोखराको सेती नदीको खोचमा दुर्घटनामा परेको यति एयरलाइन्समा सवार ७२ जनामध्ये ६९ जनाको शव निकालेर अस्पतालमा लगिएको छ भने बाँकी तीन वटा शव भीरबाट निकाल्ने काम भइरहेको छ ।

सोही विमानमा सवार पर्वतका एकै परिवारका आमा छोरा र नाती नातीनाले ज्यान गुमाएका छन् । पर्वतको बिहादी गाउँपालिका–५ उराम पोखरा घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका युवराज शर्माको परिवारले दुर्घटनामा ज्यान गुमाएपछि उनकी पत्नि सरुलाई ठूलो चोट पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) अधिकृतको रूपमा कार्यरत सरुले पति, सासुआमा र छोराछोरी आँफैले चढाएर पोखरा पठाएको विमान दुर्घटनामा परेको सबैभन्दा पहिला थाहा पाएपछि उनको होश हवास उड्यो ।

दुर्घटनामा सासु आमा ६३ वर्षीया जमुना शर्मा, पति ४० वर्षीय युवराज , छोरी १३ वर्षीया आरुबी र छोरा पाँच वर्षीय बेबीलाई गुमाएकी ३६ वर्षीया सरु शर्मा आफ्नो काम सम्हाल्न ‘एयर ट्राफिक कन्ट्रोल रुम’ मा पुगेको केही क्षणमा नै अप्रिय खबर सुनेपछि उनी अचेत बनिन् ।

दुर्घटनालगत्तै निकै तनावमा रहेकी उनलाई सम्झाई बुझाई गर्ने काम भइरहेको नाताले छोरा पर्ने बिहादीका उनका आफन्त रोशन तिवारीले बताए। खासमा सरुको परिवारको काठमाडौं बसाइ भए पनि उनीहरू​ दशैँतिहार जस्ता चाडबाड र विशेष अवसरमा गाउँमा जाने गर्थे ।

यस पटक पनि उनीहरु माघे संक्रान्ति मनाउन पर्वत जाने क्रममा आइतबार दुर्घटनामा परे । अहिले सरुको हेरविचारमा आफन्तहरु लागिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here