पोखरा । काठमाडौंबाट प्रेमविवाह गरेर पर्वत आएकी रचनाले सोचेकी पनि थिइनन् होला, काखमा भएको १० महिने छोराले आफ्नो बाबु अब भेट्न पाउने छैन । अनि आफूले चाहिँ आफ्नो खसम ।

विवाह गरेको तीन वर्षपछि रचनाले छोरा रिहानलाई जन्म दिएकी थिइन् । भूगोलले झण्डै २७० किलोमिटरको यात्रा तय गरेर जीवनको यात्रामा जीवनसाथी प्रदीप पौडेललाई साथ दिन उनले प्रेमका खातिर काठमाडौं छाडेर पर्वत आएकी थिइन् ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ गाउँ । सदरमुकाम कुश्मा नजिकैको यो गाउँलाई उनले कर्मथलो मानेर जीवनका यात्रा अगाडि बढाउन आइन् । उनीहरुकै प्रेमको निसानी थिए, छोरा रिहान ।

दाम्पत्य जीवन निरन्तर अगाडि बढेकै थियो । श्रीमान् प्रदीप पौडेल बागलुङको बडिगाड गाउँपालिकामा अमिन काम गर्ने भए । त्यसपछि रचना पनि छोरालाई लिएर बागलुङ बस्न थालिन् ।

माइतमा पनि उनी आउजाउ गरिरहन्थिन् । बच्चा जन्मिएपछि उनी अघिल्लो महिनामात्रै माइत गएकी थिइन् । माइतको बसाइँ सकेपछि आज नै घर फर्किनको लागि उनको टिकट थियो । यती एयरलाइन्सको विमानको टिकट लिएकी उनले काठमाडौं विमानस्थलबाट त उडान भरिन् । तर, उनी सवार विमान अवतरण भएन, क्र्यास भयो । उक्त क्र्यासमा प्रदीपले श्रीमती गुमाए, अनि आमाकै काखमा रहेका १० महिने रिहानले नचिन्दै संसार छाडे ।

हृदयविदारक त्यो दुर्घटनामा सवार ७२ यात्रुमध्ये रिहानको नाम भने थिएन । आमाको काखलाई संसार मान्ने रिहानको नाम केही महिनाअघि गरिएको जन्मदर्तामा मात्र सीमित छ । तर, उनको जन्मदर्ता अब प्रयोगमा आउने छैन । त्यो जन्मदर्तामा हस्ताक्षर गरेर आफ्नो सन्तान प्रमाणित गरेकी रचना पनि छोरासँगै अस्ताएकी छन् ।

माघे सक्रान्ति चाडको रमझम चलिरहेको बिहान पोखरामा एउटा सनसनी मच्चियो । विमान दुर्घटनाग्रस्त भएको खबर आगोसरी फैलियो । कतिपयले त्यो खबर अपुष्ट होस् भन्ने कामना गरे । तर, घटनास्थलले त्यो सनसनी खबरलाई पुष्टि गर्यो । आगोसरी फैलिएको सूचना सत्य थियो ।

पोखरा ७ र १५ को बीचमा सीताराम प्लटिङ नजिकै एउटा सेती खोँच छ । माथिबाट हेर्दा झ्याप्प त्यो खोँचमा कसैले केही देख्न सक्दैन । अक्करे भीरसहितको त्यो खोँचमा जान बाबियो र बुट्यानको सहारा लिएर जानुपर्छ ।

बस्ती नजिकैको त्यही अक्करे भीरमा छरपरस्ट थियो, यति एयरलाइन्सको एटीआर ७२–५०० विमानको भीमकाय संरचना । पारिपट्टि विमानको पछाडिको भागको केही अंश थिए भने, सीताराम प्लटिङ क्षेत्रमा विमानको अगाडिका हिस्सा थिए । बाँकी संरचना त्यही डरलाग्दो खोँचमा ।

विमानबाट आगो र धुवाँ निरन्तर आइरह्यो । त्यो धुवाँले एउटा दुर्गन्ध पनि बोकेर ल्यायो । विमानभित्रका चार चालकदल सदस्य र ६८ यात्रुको शवको गन्ध त्यो धुवाँमा थियो ।

यती एयरलाइन्सको दुर्घटित विमानबाट आइरहेको त्यो धुवाँमा १० महिने रिहानको शरीरको अंश पनि मिसिएको थियो । कारुणिक त्यो दृश्य त्यहाँमात्र सीमित रहेन, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म नै रह्यो ।

दुर्घटनास्थलमा हेर्नेहरु बढी थिए, अस्पतालमा चाहिँ रुनेहरु ।त्यही भिडमा प्रदीप थिए । उनले खोजिरहेका थिए, ‘आफ्नी जीवनसंगीनी रचना र प्रेमको निसानी रिहान ।’

प्रहरीको सुरक्षाका बीच पालैपालो एम्बुलेन्सले साइरन बजाएर क्षतविक्षत शवहरु बोकेर आयो । हरेकपटक एम्बुलेन्स आउँदा हृदयांश गुमाएका आफन्तहरु आफ्नै मान्छे लिएर आएकी भनेर भिजेका आँखा उघार्थे । त्यही एम्बुलेन्सको एउटा साइरनले प्रदीपको श्रीमती र छोरा लिएर आयो ।

जलेको शव हेरेर आफन्त छुट्याउन गाह्रो पथ्र्यो । प्रदीप पनि आफ्नो नाम टिपाएर भित्र गए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनभित्र रहेका शवहरुको लस्कर हेरेर तत्कालै शव छुट्याउन सकिने अवस्था थिएन । एकएक शव हेर्दै गएपछि प्रदीपले चिने, प्रेमका खातिर उनलाई साथ दिन आएकी रचना, अनि छोरा रिहानलाई ।

प्रदीपसँगै रहेका दिवाकर पौडेलले भने, “बुहारीलाई चाहिँ दाँत देखेर पहिचान भयो । छोरालाई उसले (प्रदीप) सहजै चिन्यो ।” प्रदीपले चिनेमात्र । बोलाएर उनीहरु अब बोल्दैनन्, छोराको तोतेबोली सुन्ने उनको पनि इच्छा हुँदो हो । श्रीमतीसँग घरायसी जीवनदेखि दाम्पत्य जीवनको बारेमा घरसल्लाह गर्नु थियो होला । तर, उनले श्रीमतीको आवाज अब सुन्न पाउने छैनन, न छोराको ।

पोष्टमार्टम भवनभित्र उनलाई सनाखत गर्ने व्यक्तिको हस्ताक्षर गर्न लगाइयो । दुई ठाउँमा हस्ताक्षर गरेका उनले लेखे, ‘श्रीमान्’ र ‘बाबु’ । जसरी रिहानको जन्मदर्तामा अनि रचनाको विवाहदर्तामा उनले हस्ताक्षर गरेका थिए, त्यो हस्ताक्षरको सम्बन्धमा भावना जोडिएको थियो । तर, आइतबारको सनाखतको हस्ताक्षरले एउटा जीवन उजाडेको छ ।

७२ वटा शवहरुको सनाखत, पहिचान भए परिवारलाई बुझाउने र पहिचान नभए डीएनए परीक्षणका लागि काठमाडौं लैजाने कास्की प्रशासनको सूचनापछि उनी सोमबार परिवारको शव बुझ्नेगरी अस्पतालबाट बाहिरिए ।अश्रुपूर्ण अस्पतालबाट आँसु लिएर निस्कनुबाहेक उनीसँग विकल्प पनि अब रहेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here