काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन इन्डोनेसिया भ्रमणमा गएका छन् । जाडो मौसममा उनी पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजिसी)को फाइनल हेर्न पत्नीसहित इन्डोनेसिया गएका हुन् ।

मंगलबार बेलुकी परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र रुटिन अफ नेपाल बन्द सञ्चालक भिक्टर पौडेलसँगै उनी इन्डोनेसिया भ्रमणमा निस्किएका हुन् ।पीएमजिसीको फाइन खेल भोलि (जनवरी ६) देखि आइतबार (जनवरी ८)सम्म इन्डोनेसियाको राजधानी जकार्तामा हुँदैछ । आइतबार पीएमजिसीको फाइन सकिएपछि मेयर बालेनको टिम नेपाल फर्किनेछन् ।

भिक्टरले स्थानीय तहको निर्वाचनमा बालेन जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी ई(स्पोर्टस्सँग पनि जोडिएका छन् ।नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ भिक्टरको आफ्नै हो । डीआरएस पीएमजिसीको फाइनलमा छनोट भएको छ ।डीआरएससँगै नेपाली अर्को टोली ट्रेन्ड टु किल (टिटुके) पनि फाइनल खेल्दैछ । त्यसका लागि नेपाली दुवै टोली जकार्ता पुगेका छन् ।

गत महिना मलेसियामा भएको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै टीटूके फाइनलमा पुगेको थियो । डीआरएसले भने सर्भाइभल चरण र त्यसपछि लास्ट चान्स हुँदै फाइनल चरणमा स्थान पक्का गरेको थियो ।

सर्भाइभल चरणबाट १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा डीआरएस एक सय १४ अङ्कसहित सातौँ भएको थियो । नेपाली अर्को टोली स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।

बालेनले बजेट सार्वजनिक गर्दा पनि सामाजिक विकास विभाग अन्तर्गत ई–स्पोर्टस् प्रतियोगिता आयोजना गर्नका लागि एक करोड रुपैयाँ विनियोजन समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here