एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूलाई विश्वभरका विभिन्न क्लबले भित्र्याउन प्रयास गरेको खुलासा गरेका छन्। साउदी अरबको अल नासर पुगेपछि आफूलाई विश्वभरका क्लबहरुले भित्र्याउने प्रयास गरेको खुलासा गरेका हुन्।
रोनाल्डोका अनुसार उनलाई युरोप, अष्ट्रेलिया, अमेरिकाका क्लबहरुले भित्र्याउन खोजेका थिए। उनलाई पोर्चुगल र ब्राजिलका क्लबहरुले पनि भित्र्याउन चाहेका थिए। त्यसो हुँदा-हुँदै आफूले अल नासर रोजेको रोनाल्डोले बताए।
“यसअघि कसैलाई थाहा थिएन । तर मलाई युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलकै क्लबबाट पनि अनुबन्धनको प्रस्ताव आएको थियो। मलाई थुप्रै क्लबले भित्र्याउन खोजेका थिए । तर मैले अल नासरलाई वचन दिइसकेको थिएँ”,रोनाल्डोले भने।
यस्तै त्यसक्रममा रोनाल्डोले साउदी आउनु आफ्नो करियरको अन्त्य नरहेको पनि बताए। उनले भने,”साउदी अरेबिया आउनु मेरो करियरको अन्त्य होइन। यही कारणले गर्दा म परिवर्तन भएको छु र साँच्चै भन्नुपर्दा मानिसहरूले के भन्छन् भन्नेमा म चिन्तित छैन”
रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको पनि बताए। युरोपमा हुँदा सबै उपाधि जितेका कारण आफू नयाँ चुनौतीका लागि अगाडी बढेको रोनाल्डोको भनाई छ।
“युरोपमा मेरो भुमिका सकियो। मैले युरोपको ठूला क्लबका लागि खेलें । सम्भव भएको सबै सफलता हासिल गरिसकें । अब एसियामा नयाँ चुनौतीको सामना गर्न आएको छु।”,रोनाल्डोले भने।