काठमाडौं । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फालेका झापाका निराकर पाण्डेले ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।

उनले आगलागी सुरु भएपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेका थिए । ‘उहाँले सुरुमै दाइ मेरो शव घरसम्म पुर्‍यादिनु होला भन्नु भएको थियो’, खड्काले भने, ‘मैले नआत्तिनु उद्धारका लागि प्रयास भइरहेको छ भनेको थिएँ । पछि झ्यालबाट हाम फाल्नु भएछ ।’

बीबीसीका अनुसार स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आगलागी सुरु भएको थियो । ‘आगलागी भएपछि उहाँले परिवार र हामीलाई जानकारी गराउनु भएको थियो, मैले नआत्तिन भनेको थिएँ’, खड्काले अनलाइनखबरसँग भने, ‘समन्वय गर्दा गर्दै उहाँ हाम फाल्नु भएछ ।’

उनले घटनास्थलमा रहेका २०/२५ भन्दा बढी शवहरू अझै निकाल्न बाँकी रहेको पनि बताए । ‘हाम्रो सम्पर्कमा आएको व्यक्ति कोही पनि हुनुहुन्न, अब हामीसँग पासपोर्ट पनि नभएकाले को हुनुहुन्थ्यो भनेर अनुमान गर्न पनि गाह्रो छ’, उनले भने, ‘यद्यपि, बुझिरहेका छौं ।’ पाण्डेको हकमा चाहिँ मृत्यु भएको पुष्टि भएको बताउँदै उनले शवलाई घर पठाउनका लागि समन्वय भइरहेको बताए ।

महानगरको परिचय बोके पनि विश्व शहर बन्ने यात्रामा असफल काठमाडौंमा ‘मेट्रोपोलिटन’ जीवनशैली र ‘कस्मोपोलिटन’ संस्कृतिको प्रभाव पाइन्छ।

शेखर खरेल
काठमाडौं शहरको चरित्रमाथि लेख्नु एक प्रकारले आफ्नै बकपत्र लेख्नु सरह हो। किनकि, यो यस्तो मानिसको दसी हो जो शहर हुर्के जस्तै गाउँबासीबाट शहर (महानगर) बासीमा कायाकल्प भएको छ। पञ्चायतकालसम्म नगर (वा नगर पञ्चायत) भनिएको काठमाडौं बहुदलको पुनःस्थापनासँगै महानगरमा परिणत भयो।

समयक्रममा मुलुकका अन्य नगरहरूले काठमाडौंको सिको गर्दै आफूमाथि पनि महानगरको ट्याग झुन्ड्याए। तर, आफूलाई महानगर बताउने काठमाडौं शुद्ध महानगर (मेट्रोपोलिस) वा सर्वदेशीय शहर (कस्मोपोलिटन) भने होइन। काठमाडौंलाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने यो एउटा ठिमाहा शहर हो, जसमा गाउँका अवशेष र शहरका सपना विद्यमान छन्।

संसारका अन्य शहर झैं काठमाडौं पनि रैथाने र आगन्तुक मिलेर बनेको शहर हो। यहाँका रैथानेलाई दुई उपसमूहमा विभाजन गर्न सकिन्छ। पहिलो, भित्री काठमाडौं (बोलीचालीको भाषामा ‘कोर एरिया’)मा जन्मेहुर्केका। दोस्रो, बाहिरी काठमाडौं र काँठ क्षेत्रमा बसोबास गर्दै आएका, जुन क्षेत्र समयक्रममा नगरमा परिणत भए।

आगन्तुकको सन्दर्भ भने विश्वका महानगरहरूभन्दा फरक छ। विश्व महानगर विपरीत काठमाडौंका आगन्तुक बाह्य नभएर आन्तरिक आप्रवास सिर्जित हो। अध्ययन, उद्यम, रोजगारी र विविध खाले अवसरको खोजीमा उनीहरू मुलुकका अन्य भागबाट काठमाडौंको अस्थायी बसोबास र समयक्रममा काठमाडौंबासी बनेका हुन्। आगन्तुक वा बसाइँ सरेका समेत मुलुकबासी नै भएका कारण काठमाडौं महानगर अर्थात् ‘मेट्रोपोलिटन’ मात्र बन्यो, ‘कस्मोपोलिटन’ शहरमा स्तरोन्नति हुन सकेन।

यूरोप-अमेरिका मात्र नभएर एशिया र अझ दक्षिणएशियाकै केही महानगरदेखि काठमाडौं अलग्गै रहनुको मुख्य कारण ‘कस्मोपोलिटन’ चरित्रको अभाव हो। न्यूयोर्क, पेरिस, लन्डन, हङकङ, सिंगापुर, दुबई मात्र नभएर भारतकै मुम्बई र गोवाभन्दा काठमाडौं चारित्रिक रूपमै पृथक् छ। ती शहरहरूमा आफ्नै देश मात्र नभएर अन्य मुलुकका नागरिक अवसरका खोजीमा आउँछन्। सिनेनगरी मुम्बई अर्थात् ‘बलिउड’ भारतीय मात्र नभएर छिमेकका सबै मुलुकका प्रतिभाका निम्ति सपनाको शहर हो।

विदेशीका निम्ति सीमित अवसर भएकाले काठमाडौंमा गैरनेपाली, खास गरी पश्चिमाहरूको उपस्थिति अत्यन्तै पातलो छ। काठमाडौंको प्रवासी समुदाय (एक्स्प्याट कम्युनिटी) सानो र अस्थायी प्रकृतिको छ। यहाँ देखिने विदेशीहरू भनेको मूलतः पर्यटक नै हुन्, जसको संख्या विश्वका पर्यटकीय शहरहरू र यसै शहरको पर्यटकीय सामथ्र्यको हिसाबले पनि न्यून छ।

हाम्रै जस्तो पृष्ठभूमि रहेका पर्यटकले भरिभराउ रहने दक्षिण-पूर्वी एशियाली मुलुकका शहरहरूमा ‘कस्मोपोलिटन’ संस्कृतिको बलियो प्रभाव देख्न सकिन्छ। विश्वमा यस्ता कतिपय देश र शहरहरू छन् जहाँ स्थानीयको संख्यालाई पर्यटकले उछिनेको हुन्छ। उदाहरणका लागि, करीब सात करोड जनसंख्या रहेको फ्रान्समा बर्सेनि करीब नौ करोड पर्यटक भित्रिन्छन्, जसको आधा संख्या त राजधानी पेरिस पुग्छन्।

‘कस्मोपोलिटन’ नभए पनि काठमाडौंको आधुनिकतातर्फको यात्रा भने चाखलाग्दो छ। राणाकालसम्म ‘सांग्रिला’ को छवि बनाएको काठमाडौं एक प्रकारले निषेधित नगर रह्यो। राणाशाहीको पतनसँगै काठमाडौं सारा विश्वका लागि खोलियो। सन् १९५० बाट पश्चिमाहरूको गन्तव्य बन्न थालेको काठमाडौंले सन् ६० को दशकतिर नौला अनुहारहरू देख्यो। अमेरिकाको भियतनाममाथिको आक्रमण र पूँजीवादी उपभोक्तावादले दिक्क भएका प्रतिसंस्कृति (काउन्टर-कल्चर) एवं प्रतिरोधी युवा जमात, जसलाई बिट र हिप्पी भनिन थालियो, काठमाडौं ओइरिन थाले।

परम्परावादी र प्राचीन नगरीमा त्यस जमातको आगमनले नराम्रो हलचल ल्याइदियो। भजन गुन्जिने डबलीछेउ चर्को म्युजिक घन्किन थाल्यो। गल्ली र चोकहरू रक-एन्ड-रोल, जाँज र ब्लूज म्युजिकले गुञ्जायमान हुन थाले। नयाँ नयाँ पहिरन देखिन थाले, खानामा नयाँ नयाँ परिकार थपिन थाले।

सन् १९६० को दशकमा बेलायती स्वयंसेवी ‘भीएसओ’ (भोलन्टरी सर्भिस ओभरसिज) भएर काठमाडौं आएका बेलायती मूलका भारतीय लेखक चाल्र्स एलेन काठमाडौंका युवाहरूको आधुनिकतातर्फको हुटहुटी देख्दा चकित पर्थे। काठमाडौंको आधुनिकतातर्फको यात्राबारे कुरा गर्दै उनले यस पंक्तिकारलाई भनेका थिए, “म आएको बखत तिम्रो काठमाडौं एकै फड्कोमा सत्रौं शताब्दीबाट बीसौं शताब्दीतिर लम्कँदै थियो।”

एलेनले देखेको काठमाडौंले त्यस उप्रान्त अर्को आधा शताब्दीको यात्रा तय गरिसकेको छ। सन् ९० को दशकको उदारवादी लोकतन्त्रको लहर, उपभोक्तावाद र विश्वव्यापीकरणले अहिले काठमाडौंलाई सिनेमा, सङ्गीत, फेशन, खानपिन, खेलकूद र प्रविधिमा विश्वका अन्य शहरहरूसँग जोडिसकेको छ। यसबीच आधुनिकता र विकासका कुरा सुन्न विदेशीलाई पर्खिरहनुनपर्ने भएको छ, नेपालीहरू स्वयं विदेश जाने अनि ज्ञान र सीप लिएर फर्किने क्रम बढ्दो छ।

अस्तव्यस्त, अँध्यारो

काठमाडौंले विश्व शहरहरूको हाराहारीमा उभिने कोशिश गरे पनि पछिल्लो पाँच दशक यस शहरका निम्ति व्यवस्थित आवास, यातायात र भविष्यमुखी योजनाका दृष्टिले भने गुमेको अवसर सरह भयो। स्तूप, प्यागोडा, फलैंचा, डबली आदिले भरिएको सुन्दर प्राचीन नगरी शहरी योजनाको अभावमा सिमेन्टको जङ्गलमा परिणत भइसकेको छ। घना बस्ती तर साँघुरा सडक, दूषित नदीनाला, सार्वजनिक जमीनको अतिक्रमणका कारण काठमाडौं निसास्सिँदो छ।

व्यवस्थित फूटपाथ छैन, फूटपाथ भेटिइहालिए ती हिंड्दाहिंड्दै बिलाउँछन्। काठमाडौंको कुरूप शहरीकरणलाई शहरी योजनाविद् अम्बिका अधिकारीले एउटा पदावली नै दिएका छन्, ‘बानेश्वराइजेशन’। मुलुकका नगरोन्मुख धेरै बस्ती अहिले ‘बानेश्वराइजेशन’ को चपेटामा पर्दै छन्।

अस्तव्यस्त यातायात काठमाडौंको अर्को सार्वकालिक समस्या हो। साँघुरा सडक, थेगिनसक्नु सवारीको चाप, ट्राफिक जाम अनि पार्किङको समस्याबाट नगरबासी प्रताडित छन्। साँझ ढल्किँदा नढल्किँदै सार्वजनिक सवारी साधन चल्न छाड्छन्। सार्वजनिक यातायातको दुरवस्थाकै कारण ट्राफिक जाम नियमित भोगाइ बनेको छ। चुस्त र भरपर्दो सार्वजनिक यातायात हुन्थ्यो भने निजी सवारीको प्रयोग यतिविघ्न हुने नै थिएन। महँगा आयातीत सवारी साधन, इन्धनको अकासिँदो मूल्य अनि चर्को सवारी करका कारण नगरबासीको क्रयक्षमता ह्रासोन्मुख छ। यसको वातावरणीय असरको पाटो त अलग्गै छ।

काठमाडौंको शहरी योजना कुन हदसम्म गएगुज्रेको छ भन्ने प्रमाण वेलाबखत हुने विशिष्ट व्यक्तिको नेपाल आगमनले दिन्छ, जुन वेला सुरक्षाका कारण शहरका खास खास सडकखण्ड सिल गरिदिंदा शहरको अवस्था पक्षाघातको बिरामी झैं हुन्छ। वैकल्पिक बाटो नभएका कारण कुनै एक ठाउँको सडकमा अवरोध हुँदा पूरै शहरको आवागमन अवरूद्ध हुन पुग्छ।

शहरको चरित्रकै कुरा गर्दा, काठमाडौं जनताको नभएर सरकारको शहर झैं देखिन्छ। किनकि, कार्यालय समयमा उत्कर्षमा पुग्ने शहरको सवारी चाप र चहलपहल साँझ पर्न थालेसँगै पातलिन्छ, रात छिप्पिँदै जाँदा सन्नाटा र अन्धकार छाउँछ। जबकि, महानगर र ‘कस्मोपोलिटन’ शहरहरूमा साँझ पर्न थालेसँगै चहलपहल शुरू हुन्छ र ती शहर रातभर जागा बस्छन्। कार्यालय समय सकिएसँगै शिथिल हुने काठमाडौंको स्वभाव जति अनौठो छ, सम्साँझैं रेस्टुराँ, पब र क्लब बन्द गरिनुपर्ने सुरक्षा निकायको उर्दी उदेकलाग्दो छ।

पृथक्, विशिष्ट

प्रत्येक शहरका आफ्नै विशेषता हुन्छ। काठमाडौं पनि धेरै अर्थमा विश्वका अन्य शहरहरूभन्दा पृथक् र विशिष्ट छ। यस शहरको पहिलो विशिष्टता यसको भौगोलिक बनोट हो। प्राचीन स्मारक र सम्पदा, मूर्त र अमूर्त संस्कृति, कोठा र कौशीबाट हिमशृङ्खलाको दृश्यावलोकनले यस शहरलाई जीवन्त बनाएको छ। आकार र जनसंख्याले पनि काठमाडौं विशिष्ट शहर हो।

यो यस्तो शहर हो जहाँ चाहेको वेला देखिन र नचाहेको वेला हराउन सकिन्छ। मुम्बई, लन्डन र न्यूयोर्क झैं शहरको एक कुनाबाट अर्को कुना पुग्न, साथीभाइ भेट्न वा कार्यक्रममा सरिक हुन यात्रामै पूरा दिन खर्चिनु पर्दैन। शहरका मुख्य ठाउँहरू हिंडेरै पुग्न सकिन्छ।

त्यसै गरी हावापानी र मौसम यस शहरको अर्को विशिष्टता हो। समशीतोष्ण हावापानीका कारण काठमाडौंमा न धेरै गर्मी न धेरै जाडो हुन्छ। अमेरिकी शहर झैं गर्मीमा समुद्र खोज्नुपर्ने र जाडोमा हिउँ पगाल्नुपर्ने दुःख काठमाडौंबासीलाई छैन।

त्यस्तै, उष्ण शहरहरूमा जस्तो गर्मीमा घरबाट निस्कनै नसकिने आपत् यहाँ आइलाग्दैन। ‘कस्मोपोलिटन’ नभए पनि संसारभरका व्यञ्जन काठमाडौंमा उपलब्ध छन्। पारम्परिक खानादेखि कन्टिनेन्टलका फैलावट यहाँ पाइन्छन्। संस्कृति, रहनसहन, खानपिनमा परम्परा र आधुनिकताको ‘फ्युजन’ रहेको काठमाडौंको आफ्नै विशिष्टता छ।

(खरेल लेखक एवं वृत्तचित्र निर्माता हुन्। हिमालको २०७९ मंसीर अंकबाट।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here