कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा केही समय बुढानिलकण्ठमा रहेको घरमा नबस्ने भएका छन् । उनको बुढानिलकण्ठमा रहेको घर मर्मत भइरहेको बताइएको छ ।

स्रोतका अनुुसार उनको यो घर तयार हुन ४ महिना अझैँ लाग्ने भएकोले देउवाले तत्कालका लागि डेरा खोज्नु परेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै देउवाले अब बालुवाटार छोड्नुपर्नेछ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास सरकारी आवास हो र यहाँ बस्ने सुविधा बहालवाला प्रधानमन्त्रीले मात्र पाउँछन्। पदमा नरहेपछि अब देउवाले यो सरकारी निवास छोड्नुपर्छ।

निवर्तमान प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार उनले महाराजगञ्ज क्षेत्रमा डेरा पाएका छन्। डेराको सम्झौता भइसकेको छ। अब भोलि अथवा पर्सि देउवा बालुवाटारको सरकारी निवासबाट डेरामा सर्ने तयारी गरिरहेको स्रोतले बतायो।

देउवा बालुवाटारस्थित सरकारी निवास छोडेर नजाँदासम्म नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवासमा सर्न पाएका छैनन्। देउवाले बालुवाटार छोडेसँगै दाहाल सरकारी निवासमा बसाइ सर्नेछन्।

५ पटक देशको प्रधानमन्त्री भइसकेका देउवाले बुढानिलकण्ठमा दरबारझँ आलिसान बंगला बनाएका छन् । त्यहाँ पर्याप्त खाली ठाउँका साथै आकर्षक संरचना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here