काठमाडौं । जनताले आशा र भरोसा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उप–प्रधानसहित गृहमन्त्री बनेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका लामिछानेले निर्मला पन्तको पुरानो फाइल खोतल्न लगाएका छन् ।

पूर्वसञ्चारकर्मी रहेका लामिछानेले वैदेशिक रोजगारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको बेथितिका बारेमा पनि आफै समाचार बनाएका छन् ।लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलभित्र के–के समस्या छन् ? र विवादास्पद व्यापारी सुवास श्रेष्ठ नाम गरेका व्यक्तिले सर्वसाधारण यात्रुसँग कसरी लुटपाट मच्चाइरहेका छन् भन्ने विषयमा पनि राम्रो जानकारी राखेका छन् ।

गृहमन्त्री लामिछानेले त्रिभुवन विमानस्थलभित्र श्रेष्ठको ‘टी कफी एण्ड कन्फेस्नरी शप’को धन्दाका बारेमा जबरजस्त रुपमा बोल्ड निर्णय गर्नुपर्ने बेला आएको छ ।

डलर तस्करी काण्डमा प्रहरीको हिरासतमा बसेर आएका श्रेष्ठले विगत १५/१६ वर्षदेखि अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकलौटी रुपमा यात्रुलाई महँगोमा सामान बिक्री गरेर लुटको धन्दा चलाइरहेका छन् । सरकारी संरचनाभित्र यात्रुले कफी, चिया र पानीको दुई सय गुणा धेरै पैसा तिर्नुपर्ने अवस्था छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिराएका थिए । त्यसपछि श्रेष्ठले अनेक तिकडम लगाएर विमानस्थलभित्र अड्डा जमाएर बसेका छन् । विमानस्थलभित्रको कमाइले मैतीदेवीको सेतोपुल नजिकै भव्य होटेल खोल्न लागेका छन् ।

अन्यत्र पनि आफ्ना होटेलका संरचना खडा गरेका छन् । विमानस्थलभित्र भने महँगोमा किन्न बाध्य छन् । महँगोमा सामान बिक्री गरेर राम्रो कमाइ हुने भएपछि अदालतको अन्तरिम आदेशका भरमा श्रेष्ठले पसलहरू चलाइरहेका छन् ।

विवादास्पद व्यापारी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पनि चिया, कफीको पसल चलाएका छन् । श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसल चलाउन पाउनुपर्छ । यसमा कुनै दुई मत छैन ।

प्रतिस्पर्धाबाट पसल सञ्चालनको अनुमति लिएर व्यापार व्यवसाय चलाउनुपर्छ । तर, उनले यात्रुलाई सस्तोमा सामान दिनुपर्छ । उनले विमानस्थललाई पूरा राजश्व तिर्नुपर्छ । पसल सञ्चालनका लागि विमानस्थलले खुला प्रतिस्पर्धा निकाल्नुपर्छ ।

अदालतलाई देखाएर श्रेष्ठले विमानस्थलको ‘दुहुनो गाई’लाई छाड्न मान्दैनन् । विमानस्थलले अर्को पसल खोलेर यात्रुलाई सस्तोमा सामान दिने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि लामिछानेले विशेष पहल गर्नुपर्छ ।

यो व्यवस्था अब गृहमन्त्री लामिछानेले गर्न सक्छन् । त्यो आँट लामिछानेले लिनुपर्छ । लामिछाने सरकारमा पुगेपछि विवादास्पद व्यापारी श्रेष्ठको लुट धन्दा बन्द हुनेमा दुःख पाएर हैरान भएका यात्रुहरूले आशा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here