चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल।’
वास्तवमा टन्सिल रोग होइन, यो हाम्रो शरीरको एउटा अंगको नाम हो। यहि अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ जसलाई टन्सिलाइटिस् भनिन्छ।
चिसोमा धेरैजसो स्वासप्रस्वासका समस्याहरू रूघाखोकी, पिनास, दम, निमोनिया आदि देखि लिएर हाड जोर्नी दुख्ने, सुन्निने, मुटुका समस्या, उच्च रक्तचाप जस्ता समस्या बढी हुन्छ।
यस्तै चिसोमा बढी देखिने समस्यामा घाँटी दुख्ने समस्या पनि एक हो। यो अक्सर मौसम परिवर्तन हुदा (गर्मी मौसम सकिएर जाडो सुरू हुँदा र जाडो सकिएर
गर्मी मौसम सुरु हुन लाग्दा) यसको प्रकोप बढी देखिन्छ। तर यो जाडो मौसममा मात्र होइन, अरु बेलामा पनि गलत खानपानका कारण हुन्छ।
यहाँ टन्सिल के हो? टन्सिलाइटिस किन हुन्छ र यसको सरल समाधान बारे चर्चा गरिएको छ।
के हो टन्सिल?
हाम्रो घाँटी र जिब्रोको पछाडि भागमा दुबैतिर बदाम आकारको अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो। यो हाम्रो प्रतिरोध प्रणाली अन्तर्गत पर्दछ।
यसले हाम्रो नाक र मुखबाट आउने रोगका किटाणु (भाइरस, व्याक्टेरिया) लाई शरीर भित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ। तसर्थ टन्सिललाई घाँटीको द्वारपाल अर्थात पहरेदार पनि भनिन्छ। यसलाई हाम्रो प्रतिरोध प्रणालीको पहिलो पंक्ति मानिन्छ।
Esewanic
के हो टन्सिलाइटिस?
हाम्रो घाँटीमा रहेका टन्सिल ग्रन्थीको सुजन (सुन्निनु) नै टन्सिल बढ्नु हो। जब हाम्रो अनुचित खानपानका कारण टन्सिलले धेरै काम गर्नुपर्दा वा धेरै किटाणुका कारण यसैमा किटाणु हुर्किने गर्छ जसका कारण घाँटी दुखाईसँगै टन्सिल सुन्निने, बढ्ने, रातो हुने, खाना निल्न गाह्रो हुने हुन्छ। यसैलाई आम भाषामा टन्सिलाइटिस भनिन्छ। सामानयतयाः टन्सिलाइटिस दुई प्रकारको हुन्छ।
१. एक्यूट (तिब्र) टन्सिलाइटिस
लक्षणहरू
घाँटी दुख्नु पहिलो लक्षण हो।
यसमा अचानक टन्सिल सुन्निने, रातो हुने र घाँटी दुख्ने हुन्छ।
टन्सिलमा सेतो वा पहेँलो दाग देखिन्छ।
घाँटी खसखस हुने, केही चिज खाँदा वा निल्दा दुख्ने गर्छ।
पानी वा थुक निल्दा पनि दुख्ने वा अप्ठेरो हुने हुन्छ।
दुखाई गर्धनदेखि कानसम्म पनि हुने हुन्छ।
घाँटीको बाहिर लिम्फ नोड सुन्निने हुन्छ र छाम्दा डल्लो भेटिन्छ।
ज्वरो पनि १०२ देखि १०४ सम्म हुन्छ, जरोको कारण टाउको पनि दुख्छ।
भोक कम लाग्ने र थकान हुने हुन्छ।
श्वास गन्हाउने र बढी प्यास लाग्ने हुन्छ।
२. क्रनिक (जीर्ण) टन्सिलाइटिसः
लक्षणहरू
एक्यूट टन्सिलाइटिसमा गलत खानपान वा गलत उपचारले क्रनिक बन्छ।
यसको पनि मुख्य लक्षण भनेको घाँटी दुख्नु नै हो।
टन्सिलको सुन्नाई वा दुखाई लामो समय लगातार भइरहन्छ।
यो समस्या पटकपटक दोहोरिरहने हुन्छ।
सुख्खा खोकी लाग्छ।
आवाज पनि परिवर्तन हुन्छ।
गर्धन बाहिर पनि छामेर हेर्दा गाँठो देखिन्छ।
बालबालिकामा हुने टन्सिलाइटिस
यो सामान्यतः सबै उमेर समूहका व्यक्तिलाई हुने समस्या हो। तर बालबालिका (५ देखि १५ वर्ष सम्मका) लाई धेरै हुनेगर्छ।
बालबालिकामा घाँटी दुखेर ज्वरो आउने, शरीर तथा जोर्नी दुख्ने, बान्ता हुने, पेट दुख्ने हुन्छ। यस्तो समस्यामा वेवास्ता गर्नु हुँदैन।
बालबालिकामा टन्सिलाइटिसको सही उपचार भएन भने पछि यसले मुटुको भल्बमा समस्या भई बाथ तथा मुटुरोग हुन जान्छ। यसले गर्दा मुटु कमजोर हुने र शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
र जीवनभर औषधि लिनुपर्ने हुनसक्छ। त्यसैले बालबालिकामा घाँटी दुखेर ज्वरो आएमा समयमै सही उपचार गर्नुपर्छ।
कारणहरू
यसलाई ब्याक्टेरिया वा भाइरसको संक्रमणका कारण हुन्छ भनि मानिए पनि यसको मुल कारण अनुचित आहार, बिहार नै हो। भाइरस या व्याक्टेरिया सल्बलाउन पनि यसलाई उपयुक्त स्थान हुनुपर्छ।
अर्को प्रमुख कारण कब्जियत हो।
कब्जियत गराउने रेशा छोक्राबोक्रा नभएका खाद्यानहरू जस्तै मैदाका परिकारको सेवनले।
धेरै चिल्लो, मरमसलायुक्त वा तारेभुटेका खानाले।
पिरो र अमिला खाद्यपदर्थ जस्तै तितौरा अचारहरूको प्रयोगले।
धेरै चिसा खानेकुराहरू फ्रिजबाट निकाल्ने वित्तिकै खानाले।
जंकफुड, फास्टफुड आदिको सेवनले।
बट्टाबन्दी जुसहरू, रियल, कोक आदिको सेवनले।
पाचन हुन गाह्रो हुने खानाहरू माछा, मासु, अण्डा, दुग्धपदार्थको बढी सेवनले।
मद्यपान र ध्रुमपान गर्नाले।
हरिया सागसब्जी र फलफूलको कमीले ।
पानी कम पिउनाले।
बेलुकी ढिला सुत्ने र बिहान ढिला उठ्ने बानीले।
अत्यधिक धपेडी र तनावले।
मौसम परिवर्तन, सरसफाईको कमी र वातावरण प्रदुषणले पनि हुने हुन्छ।
टन्सिलाइटिसमा के खाने-के गर्ने?
टन्सिलाइटिस हुनेवित्तिकै कडा तथा ठोस आहार बन्द गरी नरम तथा झोलिला सुप आहार खाने जस्तैः
१.मह पानीः तातो पानीमा मह राखेर दिनको तीन-चार पटक आवश्यकताअनुसार पिउने।