चोरी, लुटपाट र हत्यामा संलग्न भएर सिरियल किलरको पहिचान पाएका चार्ल्स शोभराज जेलमुक्त भएका छन्। जन्मकैद (२० वर्ष) सजाय पाएका उनलाई कैदीले रोग र उमेरका कारण पाउने सुविधा अन्तर्गत एक वर्ष सजाय कम गरी सर्वोच्च अदालतले मुक्त गरेको हो। उनलाई अब फ्रान्स नै पठाइने भएको छ। उनलाई दस वर्षसम्म नेपाल फर्किन नपाउने गरी निष्कासन गरिएको हो।

२०३२ पुसमा भक्तपुरको साँगा र काठमाडौंको मनोहरामा; क्यानडियन र अमेरिकी नागरिकको हत्यामा दोषी ठहरिएपछि उनलाई सर्वोच्चले जन्मकैद सजाय तोकेको थियो। तर शोभराज यो हत्या घटनाको २८ वर्षपछि मात्र पक्राउ परेका हुन्।

‘बिकिनी किलर’, ‘सर्पेन्ट’, ‘द स्प्लिटिङ किलर’ जस्ता उपनाम पाएका चार्ल्स खुंखार अपराधी मानिन्छन्। हाल ७८ वर्षीय उनी भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन्। उनका आमाबुवाको बिहे भएको थिएन। पछि उनकी आमाले फ्रेन्च नागरिकसँग बिहे गरिन् र शोभराजले उनकै अभिभावकत्व पाए।

चार्ल्स किशोर उमेरदेखि नै ससाना अपराधमा संलग्न थिए। १९ वर्षको हुँदै लुटपाट आरोपमा उनलाई पहिलोपटक सजाय भएको थियो। जेलबाट छुटेपछि उनी आपराधिक गतिविधिमै संलग्न भए। चोरी, लुटपाट र ठगीमा सक्रिय उनी केही समयपछि फ्रान्सबाट भागेर एसियातिर आए।

एसियाली देशहरूमा उनले थुप्रै ठगी र लुटपाट गरे। पटकपटक पक्राउ परे पनि उनले आफ्नो अपराधको बाटो छाडेनन्। उनी पर्यटकहरूको पासपोर्ट चोरेर त्यही पहिचानमा विभिन्न ठाउँ पुग्थे र अपराध गर्थे।

द गार्डियनका अनुसार उनले सन् १९७० दशकदेखि हत्या गर्न थालेका हुन्। नेपाली, भारतीय र थाई नागरिक गरी २० जनाको हत्या गरेको देखिए पनि यो संख्या अझै धेरै हुने अनुमान छ। उनले पर्यटकहरूलाई लागुऔषध खुवाएर बेहोसीमा लुटपाट गरी हत्या गर्थे भनिन्छ।

अपराधको सिलसिलामा उनी भारतमा पनि पक्राउ परेका थिए। २० वर्ष कैद सजाय भए पनि जेलमा उनी सुविधासहित बसेका थिए। जेलरदेखि प्रहरी प्रशासनसम्मलाई घुस खुवाएर उनी आफ्नो काम सहजै गराउँथे। बीचमा उनी जेलबाट भागे पनि। तर फेरि पक्राउ परे।चार्ल्सले करिब दुई दशक अवधिमा भारतमा केके गरे, उनी कस्ता व्यक्ति थिए, उनका सहयात्री को थिए?

फिल्म ‘मैं और चार्ल्स’ को कथा यही हो।

सन् २०१५ को यो बलिउड फिल्म अहिले चर्चामा रहेका चार्ल्सकै जीवनमा आधारित हो। उनी को हुन्, कस्ता अपराधी हुन्, कसरी मानिसहरूलाई आफ्नो जालमा पार्थे भन्ने कुरा यो फिल्मले देखाउँछ। फिल्मले उनको पूरै जीवन समेट्दैन, भारतमा उनले बिताएको समय देखाउँछ।

तर त्यत्ति कथाले मात्र पनि संसारभरि खुंखार अपराधीका रूपमा परिचित चार्ल्सको जीवनको एकसरो झल्को दिन्छ। उनको स्वभाव र समस्या बुझाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here