काठमाडौँ।
फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको खेलमा लियाेनेल मेस्सीको दाेस्रो गोलबारे प्रश्न उठेपछि उक्त खेल खेलाएका रेफ्री सीमोन मार्चिनियकले मौनता तोडेका छन्।
पोल्याण्डका रेफ्री मार्चिनियकले अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गरेको गोल वैध रहेको र गोललाई मान्यता दिने आफ्नो मान्यता सही रहेको बताएका हुन्।
मेसीले गोल गर्नुअघि नै अर्जेन्टिनाका दुई सब्स्टिच्युट खेलाडीहरू मैदानमा प्रवेश गरेकाले उक्त गोललाई मान्यता दिन नहुने फ्रान्सेलीहरूको जिकिर छ ।
‘यसको नियम एकदमै स्पष्ट छ, एउटा टीमका ११ जना खेलाडी मात्र मैदानमा रहन पाइन्छ,’ स्पेनी डिजिटल पत्रिका ओके दियारियोले लेख्यो । ‘यस गोललाई अवैध घोषणा गर्नका लागि भारले कुनै हस्तक्षेप गरेन जबकि टीभी रिप्लेमा यो गोल स्कोरबोर्डमा चढाउनै मिल्दैनथियो,’ उसले थप्यो ।
के थियो विवाद?
फ्रान्सविरुद्धको अतिरिक्त समयमा मेस्सीले गोल गर्दाको समयमा अर्जेन्टिनाका वार्मअप गरिरहेका दुई खेलाडी मैदानभित्र पसेका थिए, त्यतिबेलासम्म बलले गोललाइन पार गरिसकेको थिएन।
सोही विषयलाई आधार बनाउँदै फ्रान्सका समर्थकले मेस्सीको गोललाई मान्यता दिन नहुने बताएका थिए। फिफाको नियमअनुसार गोल हुँदाको समयमा कुनै बाहिरी व्यक्ति मैदानमा उपस्थित भएको अवस्थामा त्यसलाई गोलको मान्यता दिइँदैन।
यद्यपि फिफाको नियम बनाउने अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी)ले भने खेलमा बाहिरी व्यक्तिले हस्तक्षेप गरेको अवस्थामा मात्र गोललाई मान्यता नदिइने स्पष्ट पारेको छ।
यो स्पष्टीकरणअनुसार मेस्सीले गोल गर्दा मैदान छिरेका दुई खेलाडी बलभन्दा निकै टाढा थिए र यो गोलमा उनीहरुले कुनै पनि भूमिका खेलेका थिएनन्। त्यसैले यो गोलले मान्यता पाएको थियो।
रेफ्रीले के भने?
उक्त खेलका मुख्य रेफ्री मार्चिनियकले भनेका छन्, ‘मैदानमा बाहिरका खेलाडी प्रवेश गर्नुले खेलमा के असर ग¥यो? यो गोल रद्द गर्नुले खेलमा असर गर्न सक्थ्यो। फ्रान्सले उक्त फोटो सार्वजनिक गरेको छैन, जहाँ केलियन एम्बाप्पेले गोल गर्दा सात फ्रान्सेली खेलाडी मैदानमा थिए।’
फिफा पनि यस विषयमा रेफ्रीको पक्षमा उभिएको छ। एक पूर्व रेफ्रीले मार्चिनियकको प्रशंसा गर्दै भनेका छन्, ‘उनी प्रविधिभन्दा पनि अगाडि छन्। उनले अविश्वसनीय हिसाबले सही र राम्रो निर्णय दिएका छन्।’