‘चुनावलाई आफ्नो प्रतिनिधि चयन गर्नेभन्दा पनि पर्व जस्तो मनाइएको देखियो। चुनावको अन्तिम सातातिर टोल-टोलमा खसी‚ बोका‚ राँगा ढालेर भोजभतेर गरिएको थियो।’
गोरखा-२ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका अब्दुस सलाम मियाँ चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा रहे। उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल फराकिलो मतान्तर सहित निर्वाचित भएका छन्।
निर्वाचनको प्रतिस्पर्धाबाट आफूले धेरै कुरा सिकेको मियाँ बताउँछन्। चुनावमा पराजित भए पनि अब गोरखाको उद्यमशीलता र विकासका लागि जुट्ने उनी सुनाउँछन्। उनै मियासँग चुनावी अनुभव र अब राजनीतिक योजनाबारे हिमालखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीः
चुनावी परिणामकाे कसरी समीक्षा गर्नुभएको छ?
म नेकपा (एमाले)भित्र नयाँ भएँ। १७ दिनको क्याम्पेनमा पार्टीका साथीसँग परिचय गर्नु र मतदाताहरू माझ एकैचोटी जानुपर्ने अवस्था रह्यो। असाध्यै कम समयमा असाध्यै बढी दौडनु पर्यो। गोरखा भौगोलिक रुपमा ठूलो भएकाले सबै ठाउँमा पुग्न सकिनँ। प्रतिकात्मक रुपमा मात्रै केही ठाउँका मतदातासँग भेटेर कुरा राख्न भ्याएँ। गोरखामामा सूचना प्रविधिको पहुँच कम भएकाले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो कुरा प्रभावकारी रुपम राख्न सम्भव भएन।
मेरो जीवनको पहिलो निर्वाचन भएकाले लगभग सबै कुरा नयाँ भए। चुनाव के‚ कसरी हुँदो रहेछ भन्ने प्रत्यक्ष देख्न पाएँ। ग्रामीण भेगमा चुनाव लडिने तौरतरिका नजिकबाट नियाल्दा मलाई ‘कल्चरल सक’ भयो।
ग्रामीण भेगमा त्यस्तो के हुँदो रहेछ जसले तपाईंलाई अचम्मित बनायो?
आचारसंहिताको धज्जी उडाइने रहेछ। चुनावको अन्तिम सातातिर टोलटोलमा खसी‚ बोका‚ राँगा ढालेर भोजभतेर गरिएको थियो। विभिन्न समूहले विभिन्न बहानामा उम्मेदवारबाट चन्दा र सहयोग लिएको देखियो। चुनावलाई आफ्नो प्रतिनिधि चयन गर्नेभन्दा पनि पर्व जस्तो मनाइएको देखियो। करोडौं रुपैयाँ खर्च गरेर मतदातालाई प्रभावमा लिएर मत झार्ने खेल हुँदो रहेछ। यो कुरा मैले नजिककबाट प्रत्यक्ष देख्न पाएँ। जुन कुरा मेरा लागि नयाँ थियो।
पुष्पकमल दाहालले पैसाको बलमा चुनाव जिते भन्न खोज्नुभएको हो?
पैसा कसले खर्च गर्यो मलाई थाहा छैन। तर‚ यस्ता दृश्य प्रशस्त देखिए।
एमालेले पनि धेरै ठाउँमा चुनाव जितेको छ, त्यसलाई पनि पैसाको बलमा चुनाव जितेको भन्ने?
म त चुनावभरि गोरखामा थिएँ। दाबीको साथ भन्छु, मेलै गोरखामा कहीं भतेर गराइनँ। एउटा पनि मत किनिनँ। कसैलाई अनैतिक रुपमा प्रभाव पार्ने काम गरिनँ। गोरखा क्षेत्र नम्बर २ भित्र कानूनी, नैतिक र एउटा नेताले जिम्मेवारी रुपमा वहन गर्नुपर्ने भूमिका उल्लंघन गरिनँ। गोरखा क्षेत्र नम्बर २ बाहेक अन्य ठाउँमा कहाँ के भए मलाई जानकारी छैन।
आजको समयमा पनि मत किनबेच हुँदो रहेछ?
हुँदो रहेछ। कसैले कसैलाई पैसा बाँडेको देखाउन सकिने गरी प्रमाण त पाइएन। तर, अहिले पनि ग्रामीण भेगमा सबै किसिमका हतकण्डा प्रयोग गरिने रहेछ। आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं। मतदानकै वेला पनि एक व्याक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश तथा बाहिर भएका व्यक्तिको नाममा पनि मत हाले। यस्ता विभिन्न हतकण्डा भए जुन निष्पक्ष चुनावमा हुनुहुन्थेन।
पुष्कमल दाहाललाई हराउँछु भनेर चुनावमा होमिनुभएको थियो। तर‚ कुनै संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारभन्दा पनि पछि पर्नुभयो नि?
हामीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनौं। म जति ठाउँमा पुग्न सकें र जति मतदातालाई प्रत्यक्ष भेट्न सकें, त्यति मात्र भोट आएको महसुस भएको छ। अर्को कुरा, अहिले देशव्यापी रुपमा स्वतन्त्र पार्टीको लहर आयो, त्यो लहरबाट हामी पनि प्रत्यक्ष रुपमा प्रभावित भयौं।