काठमाडौं, मंसिर ११

चर्को दबाब र तनावबीच अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा कठिन जित निकाल्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा आफूलाई जीवितै राखेको छ । अन्तिम खेलअघि नै समूह चरणबाटै बाहिरनबाट बच्न मेक्सिकोविरुद्धको खेलमा जित्नैपर्ने दबाब लिएर उत्रिएको अर्जेन्टिनाले २–० को ज्यादै संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ को सम्भावना जीवित राखेको हो । र, लियोनल मेस्सीको टिम अन्तिम खेल खेल्नुअघि नै समूह चरणबाटै आउट हुनबाट तत्कालका लागि बचेको पनि छ । कठिन समयको कठिन जितमा आज फेरि एकपटक अर्जेन्टिनाको जितमा मेस्सी मुख्य नायक बने ।

नेपाली समय अनुसार आइतबार बिहान भएको समूह ‘सी’को दोस्रो खेलमा साउथ अमेरिका महादेशको अर्जेन्टिनाले उत्तरी अमेरिकाको परिचित मेक्सिकोलाई दबाबका बीच हराउने क्रममा कप्तान मेस्सीको प्रेरणादायी प्रदर्शन रह्यो । उनले दोस्रो हाफमा गरेको १ शानदार गोल र १ दोस्रो गोलमा गरेको असिस्टको मदतमा अर्जेन्टिना प्रतियोगितामा जीवित रहन सफल भएको छ । र, उसले अब अन्तिम १६ प्रवेशका लागि समूहको शीर्ष स्थानमा रहेको पोल्यान्डसँग निर्णायक प्रतिस्पर्धा गर्नेछ । पोल्यान्डले आज साउदी अरबेयिालाई २–० ले हरायो ।

लुसाइल स्टेडियममा मध्यराति १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको थियो । पहिलो हाफमा अर्जेन्टिना मेक्सिकोसँग निकै निरीह देखिएको थियो । पहिलो हाफमा अर्जेन्टिनाले जम्मा एकपटक मात्रै मेक्सिकोको पोस्टतर्फ मुभ बनाउँदा अन टार्गेट सट त जिरो नै थियो । मेक्सिकोले भने पहिलो हाफमा ३ पटक सट हान्दा एउटा शानदार फ्रि किक सट अन टार्गेट थियो, जसलाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बडा मुस्किल गरी शानदार ढंगले बचाएका थिए । खेलको सातौं मिनेटमा पनि मेक्सिकोले एक अवसर सिर्जना गरेको थियो ।

समग्रमा भन्नुपर्दा अर्जेन्टिनाको पहिलो हाफको खेल निकै पट्यारलाग्दो पनि थियो । पहिलो हाफमा दुवै तर्फबाट गोलको खडेरी तोडिन नसकेको खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले खेलमा केही गति बढाएर सुरुआत गरेको थियो । सोही क्रममा ६४औं मिनेटमा कप्तान मेस्सीले लामो दूरीबाट भुइँ सटमा बडा शानदार गोल गरेर टिमलाई अग्रता दिलाए । एन्जल डि मारियाको पासमा उनले हानेको शक्तिशाली लो सटलाई मेक्सिकन टिमका अनुभवी गोलकिपर ओचोआले रोक्न सकेनन् । र, बलले जाली चुम्यो । मेस्सीको त्यही गोल अर्जेन्टिनाको जितको मुख्य टर्निङ प्वाइन्ट थियो । र, मेक्सिको लगातार दबाबमा परेको थियो ।

त्यसपछि खेलको ८७औं मिनेटमा सब्सिच्यूट खेलाडी इन्जो फर्नान्डेजले रकेट सटमा शानदार गोल गरेपछि अर्जेन्टिनाको जित पक्का भएको थियो । युवा खेलाडी इन्जोले बेन्चबाट आएर पनि टिमको जितमा महत्त्वपूर्ण योगदान दिए । उनले कप्तान मेस्सीको पासमा मैदानको तल्लो भागबाट हानेको रकेट सटले बडा शानदार ढंगले जाली चुमेको थियो । देशका लागि पहिलो अन्तर्राष्ट्रिय गोल विश्वकपको मञ्चमा गरेका इन्जोको गोलमा कप्तान मेस्सी आफैंले असिस्ट प्रदान गरेका थिए । सो गोलसँगै अर्जेन्टिनाको जित सुनिश्चित भएको थियो । अर्जेन्टिनाका लागि यो जित प्रतियोगितामा रहनका लागि निर्णायक बनेको छ । यदि पराजित भएको भए अर्जेन्टिना आजै विश्वकपबाट आउट हुने थियो ।

आजको खेलमा अर्जेन्टिनाले खेलमा ज्यादा पकड राख्यो । उसले ५९ प्रतिशत पोजिसन आफूसँग राख्दा मेक्सिकोको पोस्टमा मात्रै ५ पटक सट प्रहार गरेको थियो, जसमा मात्रै २ सट अन टार्गेट थिए । र, दुवै अन टार्गेट सट गोलमा परिणत भएका थिए । पहिलो हाफमा ० अन टार्गेट हानेको अर्जेन्टिनाले दोस्रो हाफमा जम्मा २ वटै प्रहार गोलमा परिणत भएका थिए । र, दुवै गोलमा कप्तान मेस्सीको सहभागिता रह्यो । उता, मेक्सिकोले भने अर्जेन्टिनाविरुद्ध ४१ प्रतिशत बल पाउँदा उसले ४ पटक सट हान्दा एउटा अन टार्गेट थियो । मेक्सिकोले हानेको एक सट फ्रि किक सट थियो, जसलाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले शानदार ढंगले बचाएका थिए ।

यसअघि ० अंकका साथ समूहको पुछारमा रहेको अर्जेन्टिना अब यो जितपछि २ खेलपछि ३ अंक जोडेर दोस्रो स्थानमा चढेको छ । पहिलो खेलमा अर्जेन्टिनालाई २–१ ले हराउने अनि आजै पोल्यान्डसँग २–० ले पराजित सादी अरब पनि ३ अंकका साथ तेस्रो स्थानमा छ । अर्जेन्टिना र साउदीको समान ३–३ अंक भए पनि गोल अन्तरमा अर्जेन्टिना अघि रहेर दोस्रोमा छ । अर्जेन्टिना प्लस गोलमा छ भने सादी माइनस गोलमा छ । अर्जेन्टिनासँग पराजित मेक्सिको मात्रै १ अंकका साथ पुछारमा छ । अब अन्तिम खेल बाँकी छँदा अझै पनि समूह ‘सी’बाट ३ वटै टिमका लागि अन्तिम १६ खुला छ । अर्थात, आफ्नो र अर्को टिमको नतिजाको सहयोगमा ४ मध्ये जुनसुकै २ टिम अन्तिम १६ मा जाने बाटो खुला छ ।

यस समूहमा अहिले कोही पनि सुरक्षित छैन । तुलनात्मक रूपमा ४ अंक भएको पोल्यान्डलाई सहज छ । अब अन्तिम खेलमा पोल्यान्ड र अर्जेन्टिना भिड्दा अर्को खेलमा मेक्सिको र साउदी अरब खेल्नेछन् । अन्तिम खेलमा पोल्यान्ड कम्तीमा बराबरी खेले पनि अर्को चरण जान सक्छ भने अर्जेन्टिनालाई जित नै चाहिन्छ । यदि अर्जेन्टिना पोल्यान्डसँग पराजित भए साउदी मेक्सिकोसँग रोकिए पनि अन्तिम १६ मा जान सक्छ । दुवै खेल बराबरी भए पोल्यान्डसँगै दोस्रो टिमका रूपमा अर्जेन्टिना र साउदीमध्ये गोल अन्तरका आधारमा अघि रहने एक टिम अर्को चरण जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here