काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबलमा लियोनल मेस्सीको देश अर्जेन्टिना कठिन अवस्थामा पुगेको छ । समूह ‘सी’ अन्तर्गत आज साँझ भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २–० ले जितेपछि अर्जेन्टिनामाथि दबाब बढेको हो । यो नतिजाले उसलाई राहत पनि मिलेको छ ।

पहिलो खेलमा अर्जेन्टिना साउदीसँग २–१ ले पराजित भएको थियो । उसले दोस्रो खेल आज राति मेक्सिकोसँग मध्यराति १२ः४५ बजेबाट खेल्दै छ । सो खेल हुँदा अर्जेन्टिनासँग धेरै उपाय बाँकी हुनेछैन ।अहिले अंक तालिकामा पोल्यान्ड ४ अंकका साथ शीर्ष स्थानमा छ ।

साउदी ३ अंकका साथ दोस्रो स्थानमा रहँदा मेक्सिको १ अंकका साथ तेस्रो स्थानमा छ । अर्जेन्टिना ० अंकका साथ चौथो स्थानमा छ । अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलसम्म खुला राख्नका लागि अर्जेन्टिना आज कम्तीमा पनि मेक्सिकोसँग हार्नु हुँदैन । हारेको खण्डमा उसको विश्वकप यात्रा बडा दुखद् तरिकाले आजै राति सकिनेछ ।

यदि अर्जेन्टिनालाई मात्रै १ गोलको अन्तरमा पराजित गर्न सके पनि मेक्सिकोले ४ अंक जोड्नेछ । र, अर्जेन्टिनाको खातामा ० नै हुनेछ । यो बेला ३ अंकको अन्तिम एक खेल बाँकी रहँदा पोल्यान्ड र मेक्सिको दुवैको समान ४–४ अंक हुने हुँदा अन्तिम खेलअघि नै यी दुवै देश अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

आज हारे अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई १०–२० गोल नै गरेर जिते पनि त्यो जितको कुनै अर्थ रहनेछैन । किनभने, आज राति मेक्सिकोले जितेको खण्डमा अन्तिम खेलमा पोल्यान्ड र मेक्सिको दुवै हारे पनि अर्जेन्टिनाको ३ अंक मात्रै हुनेछ ।जबकि, अहिले नै पोल्यान्डको खातामा ४ अंक छ अनि अर्जेन्टिनालाई हराए मेक्सिकोको खातामा पनि ४ अंक हुनेछ ।

यस्तो ज्यादै कठिन र दबाबपूर्ण टेबल रहेका बेला अर्जेन्टिना अन्तिम खेलबाट अन्तिम १६ मा जाने ढोका खुलै राख्न चाहन्छ भने उसले मेक्सिकोसँग कम्तीमा पनि हार्नु हुँदैन । जित्दा धेरै राम्रो, बराबरी भए पनि अन्तिम खेलमा पोल्यान्डलाई हराएर अघि बढ्ने सम्भावना बाँकी नै रहन्छ । तर, मेक्सिकोसँग हारे रेफ्रीले खेल सकिएको सिठ्ठी फुक्नासाथ अर्जेन्टिनाको विश्वकप यात्रा त्यसैबेला सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here