विराटनगर, मंसिर १०

फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह ‘सी’बाट एक महत्त्वपूर्ण खेल हुँदैछ, जहाँ लियोनल मेस्सीको देश अर्जेन्टिना र उत्तर अमेरिका राज्यको सबैभन्दा मजबुत टिम मेक्सिको समूह चरणको दोस्रो खेलमा भिड्दैछन् । यो खेल नेपाली समय अनुसार मध्य राति १२ः४५ बजेबाट सुरु हुनेछ । यसै समूहको पहिलो खेलमा आज साँझ ६ः४५ बजेबाट साउदी अरब र पोल्यान्ड खेल्दैछन् । अहिले अंक तालिकामा साउदी ३ अंकका साथ शीर्ष स्थानमा हुँदा पोल्यान्ड र मेक्सिको १–१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । अर्जेन्टिना ० अंकका साथ पुछारमा छ ।

पहिलो खेलमा अर्जेन्टिना साउदीसँग २–१ ले पराजित हुँदा अर्को खेलमा पोल्यान्ड र मेक्सिकोले ०–० को बराबरी खेले । आजको खेल हुँदा अर्जेन्टिना ज्यादा दबाबमा हुनेछ । पहिलो खेल हारेपछि अर्जेन्टिनाको अन्तिम १६ धरापमा परेको थियो । तर, सोही समूहको अर्को खेलमा पोल्यान्ड र मेक्सिकोले बराबरी खेलेपछि अर्जेन्टिनाको तनाव कम भयो । आज पहिलो खेलमा साउदीले पोल्यान्डलाई स्पष्ट अन्तरमा पराजित गर्न सके अर्जेन्टिनामाथि एकाएक दबाब बढ्नेछ । त्यो बेला अर्जेन्टिनाले पनि मेक्सिकोमाथि जित्नैपर्ने दबाब हुनेछ ।

यदि साउदी आफ्नो खेलमा पराजित भयो वा रोकियो भने चाहिँ अर्जेन्टिनालाई मेक्सिकोसँग खेल्दा कम दबाब हुनेछ । साउदी हारेमा अर्जेन्टिनाले मेक्सिकोसँग बराबरी खले पनि अन्तिम खेलसम्म उसको बाटो खुला हुनेछ । पहिलो चरणको खेल र नतिजा हेर्दा आज यस समूहका खेलमा साउदीले पोल्यान्डलाई हराउने अनुमान लगाउन सकिन्छ भने मेक्सिकाले अर्जेन्टिनालाई आज पनि समस्यामा पार्न सक्छ । पहिलो खेल हारेको पीडा र दबाब थेग्न नसके अर्जेन्टिनाको आजै छुट्टि हुन सक्छ । साउदी र पोल्यान्डको खेलपछि अर्जेन्टिनाको बाटो कस्तो हुन्छ भन्ने धेरै कुरा थाहा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here