काठमाडौं । सत्ता गठवन्धन भत्किएको छ । चुनावमा गठवन्धनले बहुमत नल्याउने प्रष्ट भएपछि गठवन्धन स्वतः भत्किएको हो । पूरानो गठवन्धनलाई टिकाउन प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक अरु कोही पनि इच्छुक देखिएका छैनन् । पूरानो गठवन्धनमा माओवादी, माधव नेपालको पार्टी, मोहन विक्रम सिंहको राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी लगायत थिए । यी पार्टीहरुले संयुक्त रुपमा चुनाव लडे पनि बहुमत ल्याउन नसक्ने प्रष्ट देखिएको हो ।

बहुमत नआउने अवस्था सिर्जना हुनासाथ राजनीति पूरै तरल भएको छ ।

सत्ता गठवन्धनले फेरि सरकार बनाउने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न साना दलको समर्थन लिनुपर्ने देखिन्छ । यतिले मात्र यो गठवन्धनले सरकार बनाउन सक्दैन, प्रधानमन्त्री को बन्ने ? यो जटिल प्रश्नको जवाफ सत्ता गठवन्धनका कसैसँग पनि छैन ।

प्रचण्ड र माधव नेपाल यो गठवन्धन टिकाएर राख्ने पक्षमा खासै देखिनुभएको छैन । नयाँ सरकार बन्दा जसरी धेरै भाग पाइन्छ त्यसै गर्ने दाउमा दुवै नेता लागेको देखिन्छ । रौतहट १ मा चुनाव जित्नासाथ माधवले ठाडै भनिदिनुभयो– अब कसको सरकार बन्छ, टुंगो छैन ।

सत्ता गठवन्धनभित्र सबैभन्दा ठूलो पार्टी कांग्रेस बन्ने निश्चित भइसकेको छ । कांग्रेस संसदीय दलको नेता को बन्छ भन्ने अनिश्चित छ । संसदीय दलको नेता जो बन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्ने भयो भने उही प्रधानमन्त्री बन्छ । संसदीय दलको नेता पदका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह र गगन थापा इच्छुक देखिनुभएको छ ।

माधवको पार्टी राष्ट्रिय पार्टी नै बन्न नसक्ने अवस्थामा पुगेको छ । उता, गठवन्धनबाट माओवादीले पनि ठोस लाभ लिन सकेन । पहिलेभन्दा धेरै सीट जित्ने, दोस्रो पार्टी बन्ने माओवादीको चाहना थियो । तर, माओवादीले पहिलेको हैसियत कायम राख्न नसक्ने प्रष्ट भएको छ । यो अवस्थामा अब प्रचण्ड र माधव दुवैले वाम एकताको कुरा गरेर एमालेमा पस्ने र एमाले क्याप्चर गर्ने रणनीति अपनाउन सक्ने देखिएको छ ।

गठवन्धन अब रहेन, पूरै भत्कियो । तरल राजनीतिमा अस्थिरताका नायक प्रचण्ड र माधवको भूमिका कस्तो हुन्छ भन्ने उत्सुकताको विषय भएको छ । विगतमा गरेको प्रतिवद्धता अनुरुप पूरानै गठवन्धनमा रहन भने प्रचण्ड र माधव दुवै इच्छुक देखिनुभएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here