पोखरा – नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा तनहुँ जहिले हाबी हुन्छ। बिपी कोइरालाको पालादेखि नै रामचन्द्र पौडेल गोविन्दराज जोशीको बलियो उपस्थिति थियो। पछिल्लो पुस्ताका प्रदीप पौडेलले पनि कांग्रेसका प्रभाव जमाइरहेका छन्।

र, पनि तनहुँ २ मा कांग्रेस कमजोर सावित भइरहन्छ। एमालेको गढ तनहुँ २ (साविकको ३) मा यसपालि भने भत्किएको छ। २८ वर्षपछि एमालेको गढ भत्काएर कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले इतिहास रचेका छन्।

भण्डारीले एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत ल्याए। १ लाख २५ हजार ५ मतदाता रहेको यो क्षेत्रमा ६७ हजार ८१७ मत खसेको थियो।

भण्डारी र गुरुङसहित यो क्षेत्रमा १० जना चुनावी मैदानमा थिए। त्यसमा पनि पूर्ववनमन्त्रीद्वयको भिडन्तले यो क्षेत्र चासो र चर्चाको विषय बनेको थियो।

०५१ सालपछि पहिलोपटक कांग्रेसले यो क्षेत्रमा जित हासिल गरेको हो। ०५१ सालमा तत्कालीन तनहुँ ३ मा कांग्रेसका अमरराज कैनी विजयी भएका थिए। त्यसपछि लगातर एमालेले जित्दै आएको थियो।

राज्य पुनःसंरचनासँगै म्याग्दे र ऋषिङ गाउँपालिका मिसाएर साविकको तनहुँ क्षेत्र नम्बर ३ लाई क्षेत्र नम्बर २ कायम गरियो। त्यतिबेला तनहुुँ २ मा पर्ने छाङ, जामुने, मनपाङ गाविसलाई म्याग्दे गाउँपालिका र काँहुशिवपुर, भीरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ रानीपोखरी गाविसलाई ऋषिङ गाउँपालिका कायम गरिएको छ।

तनहुुँ ३ मा ०४८ सालमा एमालेका किरण गुरुङले कांग्रेसका पदमबहादुर आलेलाई १ हजार ६६२ मतको अन्तरमा पराजित गरेका थिए।

०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका टुकराज सिग्देललाई कांग्रेसका अमरराज कैनीले पराजित गरे। कैनी त्यतिबेला यो क्षेत्रमा टुरिस्ट उम्मेदवार थिए।

संयोग नै मान्नुपर्छ यसपालि विजयी भएका कांग्रेसका भण्डारी पनि टुरिस्ट उम्मेदवार हुन्। उनको मतदाता नामावली तनहुँ २ मा छैन। तनहुँ १ अन्तर्गत भानु नगरपालिका–९ पुर्कोटका भण्डारीको मतदाता नामावली पुर्कोट क्याम्पसको मतदान केन्द्रको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here