काठमाडौं : चितवन क्षेत्रनम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।

आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

अहिले मतगणना सकेर तथ्यांक संकलनको कार्य भइरहेको र केहीबेरमा औपचारिक घोषणा गरिने उनले बताए।

पर्सामा एमालेका लागि राजकुमार गुप्ता नै ‘फस्ट एण्ड लास्ट’ विजयी

पर्सा ३ मा साह्रै पेचिलो बनेको प्रतिनिधि सभा सदस्यतर्फको चुनावमा अन्ततः नेकपा एमालेका राजकुमार गुप्ता विजयी हुनुभएको छ। उहाँ नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीभन्दा १ सय ५१ मत अन्तरले विजयी हुनुभएको हो ।

गणना गर्न थालेदेखि नै एक/डेढ सयको मात्र अन्तरमा कहिले चौधरी अगाडि त कहिले गुप्ता अगाडि हुँदै अन्ततः गुप्ता नै विजयी हुनुभएको हो।

गुप्ता र चौधरीले २०/२० हजार मत कटाएपछि कहिले को पछाडि त कहिले को अगाडि हुँदै अन्तिममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर जित्नुभएकाे हाे । कांग्रेसका चौधरीले २४ हजार १ सय ९ मत ल्याउनु भयाे । एमाले र जसपाका साझा उम्मेदवार गुप्ता दोस्रो पटक सांसद बन्नु भएको हो । उहाँ २०६४ को चुनावमा निर्वाचित भइ संविधान सभा सदस्य पनि हुनुभएको थियो।

एमालेले पालिका चुनावमा ५ ठाउँमा जितेकाे थियाे । तर प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा यसपालि पर्सामा एमालेबाट विजयी हुनेमा गुप्ता ‘फस्ट एण्ड लास्ट’ हुनुभएकाे छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी जम्मा १२ सिट रहेकाे पर्सामा एक सिट एमालेले जितेकाे छ । बाँकी ११ सिट अन्य राजनीतिक दलले जितेका छन् ।

पर्सा २ मा कांग्रेसका चौरसिया विजयी

पर्साको क्षेत्र नम्बर २ को पनि प्रत्यक्षतर्फको मत गणना सकिएको छ । पर्साको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका अजय कुमार चौरसिया विजयी हुनुभएको हो। उहाँ एमाले र जसपाका साझा उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीभन्दा ६ हजार १६ मत बढी ल्याइ विजयी हुनुभएको हो ।

चौरसियाले कुल २८ हजार ४ सय ५१ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी जसपाका कुर्मीले २२ हजार ४ सय ४५ मत मात्र ल्याउनु भएको पर्साको क्षेत्र नम्बर २ का चुनाव अधिकृत सुशील देवकोटाले बताउनु भयो।

पर्साको यो परिणामसहित प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेशतर्फको सबै मत गणना सकिएको छ । प्राप्त नतिजा अनुसार पर्साको क्षेत्र नम्बर १ मा जसपाका प्रदीप यादव, २ मा कांग्रेसका अजय कुमार चौरसिया, ३ मा एमालेका राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ।

प्रदेशमा को-को भए विजयी

प्रदेश सभा सदस्यतर्फ भने पर्साका ८ सिटमध्ये ३ सिटमा कांग्रेस, २ सिटमा जसपा, अरु १/१ सिटमा लोसपा, माओवादी र स्वतन्त्र उम्मेदवारले आफ्नो स्थान पक्का गरेका छन् । एमालेले भने प्रदेश सभातर्फ खाता खोल्न सकेन ।

प्रदेश सभातर्फ निर्वाचित हुनेहरुमा पर्साको १ को १ र २ मा माओवादीका रहबर अंसारी र जसपा उपाध्यक्ष समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, २ को १ र २ मा कांग्रेसका श्याम पटेल र रमेश कुर्मी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी ३ को १ र २ मा पनि क्रमशः स्वतन्त्रका प्रमोद जैसवाल र नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ। पर्सा ४ को १ र २ मा पनि नेपाली कांग्रेसका शंकर चौधरी र जसपाका शिंहासन शाह कलवार निर्वाचित हुनभएको छ । उहाँहरु दुवै जना दोस्रो पटक प्रदेश सभामा दोहोर्याउने सभासद पनि बन्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here