एजेन्सी – क्रिस्टियानो रोनाल्डोले आफ्ना लामो समयका प्रतिद्वन्द्वी लियोनेल मेस्सीको प्रशंसा गर्दै उनलाई ‘जादूगर’को संज्ञा दिएका छन्। ब्रोडकास्टर पियर्स मोर्गनलाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डोले मेस्सीलाई जादूगरको संज्ञा दिएका हुन्।
बिहीबार प्रसारित मोर्गनसँगको उनको अन्तर्वार्ताको दोस्रो भागमा, रोनाल्डोले आफू पीएसजी स्टारको प्रशंसक रहेको बताएका थिए। रोनाल्डोले मेस्सीलाई अद्भुत खेलाडीको संज्ञा दिए। रोनाल्डोले मेस्सीको प्रशंसा गर्न छुटाएनन्।
रोनाल्डोका अनुसार उनी मेस्सीलाई धेरै सम्मान गर्छन्। मेस्सी आफ्नो लागि टिममेट जस्तै रहेको रोनाल्डोले बताए। त्यसक्रममा रोनाल्डोले मेस्सीसँग १६ वर्ष एकै तहमा फुटबल खेलेको उल्लेख गर्न पनि छुटाएनन्।
“अद्भुत, उनी उच्च स्तरका खेलाडी हुन्। हामी १६ वर्ष एकै स्टेजमा रह्यौं। कल्पना गर्नुहोस्, १६ वर्ष हामीले एकै स्टेजमा फुटबल खेल्यौं। यो सामान्य कुरा होइन। त्यसैले मेस्सीसँग मेरो राम्रो सम्बन्ध छ।”,रोनाल्डोले भने।
रोनाल्डोले मेस्सी आफ्नो धेरै राम्रो साथी रहेको पनि बताए। सँगै खाना खाना, घर आउजाउ हुने फोनमा कुरा हुने किसिमको मित्रता आफूहरु बीच नभएपनि मेस्सी र आफूबीच एक प्रकारको मित्रता रहेको रोनाल्डोको भनाई छ।