काठमाडौँ – ‘बाल्यकालमा आमा नमरून्, बुढेशकालमा स्वास्नी नमरून् भन्छन्। तर म एघार वर्षको हुँदा आमा बित्नुभयो। म ५३ वर्षको हुँदा मेरी मीरा,’ कलाकार हरिवंशले आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’ मा लेखेका छन्।

हुन पनि श्रीमती मीरा बित्दाको क्षण उनको जीवनमा सबैभन्दा पीडादायी थियो। विसं २०६८ साल एउटा हाँस्य कलाकारको अनुहारबाट हाँस्यरस खोसिदिने कठोर वर्ष थियो। जुन उनी सम्झन चाहँदैनन्। तर सम्झन नचाहने कुरा नै जीवनमा बिर्सन नसकिने रहेछ।

त्यस्तै भयो उनलाई पनि। प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरूष’ यतिबेला प्रदर्शनमा छ। फिल्ममा छोराले बाउको बिहे गरिदिने प्रसंगले यतिबेला चर्चा पाएको छ। ती बाउको भूमिकामा थिए, हरिवंश। दशकअघि श्रीमती गुमाएका हरिवंशको बाबु पात्र बुढेशकाल लागेसँगै एक्लो र निराश महसुस गर्न थाल्छ। त्यो एक्लोपनलाई विलिन पार्ने गरी एकदिन उसको जीवनमा एउटा बहार आउँछ- प्रेम।

बुढेसकालको प्रेम र विवाहलाई नेपाली समाजले कसरी लिन्छ? फिल्मले यो मुद्दालाई मिहीन ढंगले केलाएको छ। चुनौतीका बाबजुद आफ्नो छोराले बाउको बिहे गर्न जुन संघर्ष गर्छ, फिल्मको द्वन्द यहीँनिर छ।

दुई दशकदेखि सहयात्री गुमाएको फिल्मका महापुरुषलाई हरिवंशले नजिकबाट नियालेका छन्। किनकि जीवनको दुई वर्ष उनका लागि पनि न कहिल्यै दिन भए, न रात। ‘त्यो पीडा कतिसम्म थियो कसैले अनुभूत गर्न सक्दैन,’ हरिवंश सुनाउँछन्।

बैठकक्षको भित्ताहरूमा हरिवंशकी मीरा मुस्कुराइरहेकी थिइन्‌‌‌। ‘चाहे घरको भित्तामा होस्, वा मनको भित्ता। मीरा कहिल्यै छुट्दिननन्,’ हरिवंश मीराका तस्वीरहरू नियाल्दै भन्दै थिए।

हरिवंशलाई लाग्दो रै’छ- मिराले आफूलाई कतैबाट हेरिरहेकी छन्। स्नेही लवजमा बोलाइरहेकी छन्। धन्न, हिजो मिराको याद आउँदा दुखिरहन्थ्यो हरिवंशलाई। झट्का लागिरहन्थ्यो। अहिले याद आउँदा प्रेममात्रै भरिएर आउँछ। मीठा अनुभूति भरिएर आउँछ।

यतिबेला हरिवंशको साथमा छिन् रमिला। जो मीरा बितेको दुई वर्षपछि उनको जीवनमा आएकी थिइन्, सहयात्री बनेर। ‘हामी दुवैले एकल जीवन बिताइरहेका। उस्तै पीडा भोगिरहेका। जब विहे भयो, हामी दुवैले एकर्काको हाँसो फर्कायौं,’ हरिवंश भन्छन्।
जब मिरा गइन्…

मीरा हरिवंशलाई भन्ने गर्थिन्- ‘मेरो ४७ वर्षमा खड्को छ। दुर्भाग्य, मीराको जीवन ४७ वर्षमै रोकियो।’ म बुढो हुन्छु होला तर मीराले अब कहिल्यै बुढी हुनु पर्दैन। उनी अब सधैँ सच्चालिस वर्षकी मात्र हुन्छिन्– सधैँसधैन्,’ आत्मकथा चिना हराएको मान्छेको २६५ पेजमा हरिवंश लेख्छन्।

मीरा गएपछिका थुप्रै दिन हरिवंशका आँखा ओभाएनन्। थुप्रै रातहरू अनिदो बिते। उनी साइक्याट्रिक डाक्टरकहाँ जान्थे। डाक्टरले भन्थे, ‘तपाईँलाई एक वर्ष एकदमै गाह्रो हुन्छ। सेकेन्ड सेकेन्डमा सम्झनुहुन्छ। एक वर्षपछि अलि कम हुन्छ। तर जीवनभरि पीडा त भइनै रहन्छ।’

जेठा छोरा बुहारी अमेरिकामा थिए। कान्छो छोरा मोहित २२ वर्षका मात्र थिए। छोरा बुहारी बाबुको अवस्था देखेर अमेरिका छाडेर नेपाल आए। छोरा बुहारीले एकछिन पनि छाड्दैन थिए हरिवंशलाई। एकातिर मीराको याद, अर्कोतिर छोराहरूलाई दु:ख दिएँ भन्ने पीडा। उनी झन् झन् दुखिरहे।

‘एक एक सेकेन्डमा झसङ्ग भसङ्ग हुन्थेँ। एक्लै कराउँथेँ, बर्बराउँथे। नाम लिएर बोलाउँथेँ। मीरा फर्केर आउँछिन् कि जस्तो लाग्थ्यो,’ हरिवंश सम्झन्छन्। हरिवंश घरका हरेक कुरामा मीरासँग निर्भर थिए। आफूले के लगाउनुपर्छ, उनको रोजाइ हुन्थेन। छनोट मीराको हुन्थ्यो। ‘म उनीसँग डिपेन्ट थिएँ। अरुमा डिपेन्ट भएको मान्छेलाई सबै थोक सम्हाल्नुपर्दा कति गाह्रो हुन्छ न,’ उनी सम्झन्छन्।

उनलाई मीराको आवाज सुनेर कहिल्यै पुग्दैन थियो। रेडियो र एफएममा बोल्दाकी मीराको आवाजको उनी सदैव तारिफ गर्थे। मीराको स्वभाव झनै फूलजस्तो लाग्थ्यो उनलाई। मीराको यादका कारण उनी त्यो घरमा बस्नै सकेनन्। कोलोनीको घर बेचेर नयाँ घरमा सरे। ‘म त्यो घरमा अझै पनि भित्र पस्न सकेको छैन,’ उनी भन्छन्।

अब हरिवंशलाई कुनै काम गर्न उत्साह थिएन। ‘महसन्चारबाट दाइलाई अभिनयमा फर्काउन धेरै गाह्रो पर्‍यो। उहाँ अब यो केका लागि गर्नु भन्नुहुन्थ्यो। लयमा ल्याउन सकेका थिएनौं,’ निर्देशक प्रदीप भट्टराई त्यस क्षण सम्झेर भावूक बने।

त्यतिबेला हरिवंशलाई बाँच्नुको मोह नै थिएन। उनले मर्ने कल्पनासम्म गरे। तर मानिसलाई मर्नबाट जोगाउने कुनै सूत्र हुँदो रहेछ। हरिवंशका लागि त्यो सूत्र थिए छोरा मोहित। ‘म भइनँ भने कान्छो छोरा मोहितको अवस्था के होला?’ मान्छेलाई बाँच्न प्रेरित गर्ने एउटा सूत्र हुँदो रहेछ। त्यो सूत्रचाहिँ जेठोको त बिहे भइसकेको थियो। तर मोहित सानै थियो।मलाई त्यही कुराले बाँच्ने प्रेरणा दियो,’ हरिवंश सम्झन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here