फोटो गोगुल बाट

आकाशको बादलजस्तै उनको मनोदशा छिन-छिनमा बदलिइरहछ ।

कहिले उनी उरेन्ठेउलो युवकजस्तै उटपट्याङ गर्छन्, कहिले कुनै दार्शनिकझैं गम्भीर देखिन्छन् । कहिले भिक्षुजस्तै शान्त एवं सौम्य देखिन्छन्, कहिले महा-जड्याँहा जस्तै लथालिंग हुन्छन् ।

यस्तो हालतमा देख्दा दुई वर्षअघि विवाह गरेकी पत्नीलाई अनौठो लाग्नु स्वाभाविकै हो ।

‘अहिलेचाहिँ उनले पचाउन थालिन्,’ कलाकार विपिन कार्की भन्छन्, ‘मेरो आनीबानी उनलाई सबै थाहा भइसक्यो ।’

यो उनको स्थायी बानी भने होइन । बहुरुपी मुद्रा त चलचित्रको भूमिका अनुसार बदलिरहन्छ । चलचित्रमा जस्तो क्यारेक्टर पाउँछन्, त्यसलाई उनी निजी जीवनमा पनि अभ्यास गरिरहेका हुन्छन् ।

बाटोमा हिँडिरहेको बेला होस् या किनमेलमा गएको बेला, उनी आफ्नो भूमिकाकै मुद्रामा प्रस्तुत भइरहेका हुन्छन् । कहाँसम्म भने घरभित्र पत्नीसँग पनि उनी बन्न लागेको नयाँ चलचित्रकै भूमिका रिहर्सल गरिरहेका हुन्छन् ।

पशुपतिप्रसादको ‘भष्मे डन’ बनिरहँदा उनको घरमा विपिन होइन, भष्मे डन’ हाबी हुन्थ्यो । छड्केको ‘विन्दु’ बन्दा पनि त्यस्तै ।

सामान्य दिनमा समेत विपिन आफूले भेटेका, देखेका, संगत गरेका व्यक्तिको आवाज, हाउभाउ, हुलिया टिप्छन् । त्यसलाई फ्युजन गरेर एउटा ‘सग्लो पात्र’ तयार गर्छन् । र, त्यही पात्रमा आफूलाई रुपान्तरण गर्ने अभ्यासमा हुन्छन् । ठीक त्यहीबेला हो, पत्नीले उदेक मान्ने । पतिले ‘नाटक’ गरिरहेका हुन्’ भन्ने पत्नीलाई थाहा हुँदैनथ्यो अनि उनी दिक्क मान्थिन् ।

अहिले भने विपिनको बहुरुपी हाउभाउ घरमा सामान्य भएको छ । उनको मुड चेन्ज हुँदा पत्नी ठान्छिन्, ‘बुढाले नाटक गरिरहेका छन् ।’

‘कहिलेकाहीं त मेरो यथार्थ भावलाई पनि उनी नाटक नै ठान्छिन्,’ विपिन भन्छन् ।

कहिलेकाहीं विपिनलाई रिस उठ्छ । पत्नी सोच्छिन्, बुढाले रिसाउने क्यारेक्टर पाएछन् । कहिले विपिन मिजासिलो हुन्छन् । पत्नी सोच्छिन्, बुढाले सालिन भूमिकामा अभिनय गर्ने भएछन् ।

मङ्ल, अशोज २४, २०७४ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here